네팔, 코로나19및 폭우 등 자연재해로 야채가격 폭등해!

네팔 정부는 코로나19 및 폭우 등 자연재해로 인해 국민들의 소비재인 채소가격이 한달만에 278%이사 폭등했다고 26일 밝혔다.

मूल्य ह्वात्तै बढ्नुमा अफ सिजन, बर्खाले धेर ठाउँमा तर कारी नष्ट हुनु, भारतबाट हरियो तरकारी नआउनु, आपूर्तिमा असहजता तथा कृत्रिम अभाव कारण
काठमाडौँ — सर्वसाधारणले दिनहुँ उपभोग गर्ने तरकारीको मूल्य बढेको छ । अफ सिजन, बर्खाले तरकारी नष्ट गरेको, निषेधाज्ञाले आपूर्ति असजिलो भएको र कृत्रिम अभाव सिर्जना गरिएकाले मूल्य अचाक्ली बढेको हो । सरकारी तथ्यांकअनुसार एक महिनाकै अवधिमा तरकारीको भाउ २ सय ७८ प्रतिशतसम्म बढेको छ ।
 

‘सामान्य दिनमा दैनिक ६ देखि ७ लाख किलो तरकारी भित्रिने कालीमाटी बजारमा अहिले आधा घटेको छ, शनिबारको तुलनामा आइतबार थप आधाले घट्यो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने, ‘पानी धेरै परेकाले तरकारी नष्ट हुने समस्या भयो । निषेधाज्ञाले आपूर्तिमा रोकतोक नभए पनि केही ठाउँमा झन्झटिलो हुँदा तरकारी कम भित्रियो ।’
कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ तर आइतबार ९५ हजार २ सय ३४ किलो मात्रै भित्रियो । जसले गर्दा बजार भाउ बढ्न थप मद्दत पुगेको हो । ‘भारतबाट हरियो सागसब्जी आएको छैन, प्याज र आलु भारतबाट आउँछ, त्यो पनि महँगिएको छ,’ उनले भने ।
समितिको तथ्यांकमा एक महिनाको अवधिमा सबैभन्दा बढी सानो गोलभेंडा (टनेल) को भाउ बढेको छ । साउन ७ गते प्रतिकिलो १८ रुपैयाँ (होलसेल) मा बिक्री भएको टनेल गोलभेंडाको मूल्य बढेर होलसेलमै ६८ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा मूल्य २ सय ७७.७८ प्रतिशतले बढेको छ । सानो गोलभेंडाको प्रतिकिलो २ सय ४४.२२ प्रतिशतले बढेर प्रतिकिलो ६२ रुपैयाँ पुगेको छ ।

प्रतिकिलो ५४ रुपैयाँ पर्ने रातो आलुको ६७ रुपैयाँ, ३८ रुपैयाँ पर्ने बन्दा (स्थानीय) को ४८ रुपैयाँ पुगेको छ । एक महिनाअगाडि प्रतिकिलो ९५ रुपैयाँ पर्ने काउली स्थानीयको १ सय १५ रुपैयाँ, ५५ रुपैयाँ पर्ने बोडीको १ सय ५ रुपैयाँ र ७७ रुपैयाँ पर्ने घिउसिमीको १ सय १५ रुपैयाँ पुगेको छ ।
उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । ती जिल्लाबाट आयातीत तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत तरकारी बजारमा बिक्री हुन्छ । अहिले होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा मनपरी मूल्यमा बिक्री भइरहेको छ । ठा 
उँ हेरी खुद्रामा व्यापारीले शतप्रतिशतसम्म मूल्य बढाएका छन् ।
नियामक निकायबाट प्रभावकारी रूपमा अनुगमन नहुँदा व्यवसायीले मनोमानी पैसा लिएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘बर्खा, लकडाउन/निषेधाज्ञा मूल्य बढाउन एउटा बहाना मात्रै हो, खुद्रा पसलमा प्रतिकिलो तरकारी एक सय रुपैयाँभन्दा कममा पाइँदैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘महामारीको अवस्थामा व्यवसायीले आफ्नो धर्म निभाएनन्, सरकारले पनि उपस्थिति देखाउन सकेन । अनुगमन प्रभावकारी गरेन ।’
बजार अनुगमन र मूल्य नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हो । संघीय संरचनासँगै बजार अनुगमनको दायित्व स्थानीय तहलाई पनि जिम्मा दिइएको छ । वाणिज्यले केही क्षेत्रमा अनुगमन गरे पनि स्थानीय निकायबाट अनुगमन भएको छैन । निषेधाज्ञाका क्रममा व्यवसायीहरूले मूल्यवृद्धि गरे जिल्ला प्रशासन कार्यालयले पनि कारबाही गर्ने जनाएको थियो । तर, यी निकायबाट बजार अनुगमन हुन सकेको छैन ।
बल्खु तरकारी बजारका म्यानेजर श्याम लामिछानेले पनि होलसेल र खुद्रामा मूल्य धेरै अन्तर रहेको बताए । उनले तरकारीको मूल्य होलसेलमा भन्दा खुद्रामा अचाक्ली बढेको बताए । ‘होलसेलमा प्रतिकिलो ५० मा पाइने तरकारी बाहिर ८० रुपैयाँमा खरिद गरिरहेको छु, कुनै तरकारीको शतप्रतिशतसम्म मूल्य बढेको देखिन्छ,’ उनले भने, ‘होलसेलमा मुख्य बढ्नुको कारण सामान नभएरै हो । शनिबार तरकारी बजारमा दुई/तीन डोको भिन्डी थियो तर किन्ने मान्छे सयौं थिए । माग बढी भएपछि व्यवसायीले मूल्य केही बढाएको देखिन्छ ।’ लामिछानेका अनुसार बल्खु बजारमा भारतबाट तरकारी भित्रिएको छैन । स्वदेशी उत्पादन पनि सकिएकाले माग र आपूर्तिमा असन्तुलन देखिएको उनको दाबी छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले विषम परिस्थिति भएकाले सामान्य मूल्यवृद्धि स्वाभाविक भएको बताए । यद्यपि मूल्य होलसेलभन्दा खुद्रामा बढेको दाबी गरे । ‘होलसेलमा २२ रुपैयाँमा बेचेको करेला खुद्रामा ८० रुपैयाँ, गोलभेंडा आलु, प्याज, काउली पनि उत्तिकै महँगो भएको छ,’ खतिवडाले भने, ‘भारतबाट तरकारी नल्याउने भन्ने मनसाय हो तैपनि फाटफुट आएको छ । बजारमा तरकारी नहुँदा केही महँगो भयो ।’
समितिको तथ्यांकअनुसार एक महिनाअघि प्रतिकिलो ८८ रुपैयाँ पर्ने परबर बढेर ९५ रुपैयाँ, किलोको २८ रुपैयाँ पर्ने फर्सी ३८ रुपैयाँ, किलोको ५८ रुपैयाँ पर्ने भिन्डी ६५ रुपैयाँ, किलोको १ सय १५ रुपैयाँ पर्ने हरियो प्याज १ सय ४५ रुपैयाँ, ४५ रुपैयाँ पर्ने हरियो खुर्सानी ९८ रुपैयाँ पुगेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि वर्षाका कारण उत्पादनमा कमी आएको दाबी गरे । भारतबाट कालीमाटी बजारमा आलु, प्याज मात्रै आयात भएको बताए । ‘ताजा तरकारी नेपालीकै हुन्, भारतबाट आयात भएको छैन तर माग अत्यधिक छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘यातायात सहज नहुँदा पनि मूल्य बढेको छ ।’ भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा भारतबाट १५ अर्ब १३ करोड रुपैयाँको तरकारी आयात भएको थियो । ०७६/७७ मा परिमाण घटेर १४ अर्ब ८५ करोड रुपैयाँको आयात भएको थियो ।
समितिको तथ्यांकअनुसार एक वर्षको तुलनामा गोलभेंडाको मूल्य १३ प्रतिशतले घटेको छ । अन्य हरियो तरकारीको मूल्य भने बढेको छ । ०७६ भदौ ७ गते प्रतिकिलो ४१ रुपैयाँमा बिक्री भएको आलु अहिले ६७ रुपैयाँ पुगेको छ । एक वर्षको तुलनामा बन्दाको मूल्य ४५ प्रतिशत, काउली स्थानीय ६९.१२ प्रतिशत, बोडी १ सय ७६ प्रतिशत, घिउसिमी १ सय २१ प्रतिशतसम्म बढेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले केही स्थानको तरकारी विश्लेषण गर्दा महँगो पाइएकाले दुई–तीन दिनमा नियन्त्रण गर्ने दाबी गरे । ‘कालीमाटीमा महँगो र बूढानीलकण्ठमा सस्तो देखियो,’ उनले भने, ‘एक–दुई दिनमा अनुगमन गर्छौं । मूल्य नियन्त्रण नहुन्जेल कोटेश्वर, चाबहिल, बानेश्वर, महाराजगन्ज, बूढानीलकण्ठ, बालाजु र कलंकीमा ३/४ अनुगमन टोली खटाउँछौं ।’
प्रवक्ता आचार्यले मूल्य बढ्नुमा सवारीसाधनको उपलब्धता कारण रहेको बताए । ‘पर्याप्त मात्रामा सवारी नचल्दा विगतमा पनि महँगी बढेको थियो । अहिले पनि त्यही भएको बुझाइ हो,’ उनले भने, ‘दुई–तीन दिनमा यसलाई नियन्त्रण गर्छौं ।’
फलफूलको मूल्य शतप्रतिशत बढ्यो
तरकारीसँगै फलफूलको मूल्य पनि उच्च भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सबैभन्दा बढी स्याउको मूल्य बढेको छ । साउन ७ गते प्रतिकिलो ९५ रुपैयाँ रहेको स्याउ (झोले) ६३.१६ प्रतिशतले बढेर १ सय ५५ रुपैयाँ पुगेको छ । स्याउ (फुजी) प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेकामा १ सय ४ प्रतिशतले बढेर २ सय ९५ रुपैयाँ पुगेको छ । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।
भन्सार विभागको तथ्यांकअनुसार ०७६/७७ मा फलफूल खरिद गर्दा १४ अर्ब ७१ करोड रुपैयाँ बाहिरिएको थियो । समितिका अनुसार केराको मूल्य पनि प्रतिदर्जन २० रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा प्रतिकिलो अनार ३४ प्रतिशतले बढेर १ सय ९५ रुपैयाँ पुगेको छ । तरबुजा हरियो किलोको १२ प्रतिशतले बढेर ४८ रुपैयाँ, मेवा किलोमा २७ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ 
साभार : भाद्र ८, २०७७,राजु चौधरी,

 

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지